Tuesday, September 7, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु-भीम के सी कमल

लरक्कै लर्क्यो रातो सारी भुंइमा,

संगीसाथी सबै भैराछ भेला

भन्देउ न कुन चांहि राम्री हामी दुइमा ।



रातो सारी, चुरा, पोते र गरगहनाले सजिएका, मन भरी माइतीको सम्झना बोकेका पोर्चुगलको राजधानी शहर लिस्बनको सान्तोस आल्कान्त्रा भेगमा बस्ने महिला दिदिबहिनीहरुले लिस्बनको इस्त्रेला पार्क, लापामा छमछमी नाच्दै यस बर्षको तीजको दर खाएका छन् ।



स्थानिय महिला दिदिबहिनीहरुले स्वस्फुर्त रुपमा आयोजना गरेको सो दर खाने कार्यक्रममा उक्त भेगका प्राय सम्पुर्ण दिदिबहिनीहरुको उपस्थिति रहेको बताइन नाच्दानाच्दै थाकेकी लक्ष्मी रेग्मीले । उनि लगायत सबै दिदिबहिनीहरुले घरबाटै तीजको दर तयार गरेर लगेका थिए कार्यक्रममा । गत बर्ष घरघरमा डाकेर सबै दिदिबहिनीलाई दर खाने तथा खुवाउने गरेकोमा यस पटक महिलाहरुको संख्या बढेको र सबै कहां जादा समय पनि नपुग्ने भएकोले सामुहिक रुपमा दर खाएको बताइन अर्की सहभागी लक्ष्मी सापकोटाले । साना साना बालबच्चाहरु पनि तालमा ताल मिलाएर नाचेको देखेर दंग परेकी पोर्चुगिस बृद्धा फातिमाले नेपालीहरुको सांस्कृतिक परम्पराहरुको खुलेर प्रशंसा गरिन पंक्तिकार संग ।



दिउसो १ बजे देखि साँझ ६ बजेसम्म नाचगान र खानपिनमा रमाइरहेका चेलिबेटीहरु ६ बजे पछी भने आज नपुगेको रहर एनआरएन लगायत अन्य संघसस्थाहरुले १२ तारिख आइतबार इस्तेफानियामा आयोजना गरेको तीज कार्यक्रममा नाचेर पुरा गर्ने भन्दै बिदा भए ।



-भीम के सी कमल

लिस्बन, पोर्चुगल

Thursday, September 2, 2010

पोर्चुगलमा हरितालिका तीज कार्यक्रम आयोजना हुने ।

नेपाली महिलाहरुको महान चाड हरितालिका तीज २०१० पोर्चुगलको राजधानी लिस्बनमा एक कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । गैर आवाशिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षतामा हालै सम्पन्न बैठकले गैर आवाशिय नेपाली संघको संयोजनमा पोर्चुगलमा कृयाशिल रहेका बिभिन्न संघ संस्थाहरु पोर्चुगल नेपाल मैत्री संघ, नेपाल पोर्चुगल कला संस्कृती तथा साहित्य संचार परिषद, नेपाली समाज, तमु समाज, म्याग्देली समाज (मोना), आदिवासी जनजाती महासंघ एबम् बागलुङ् सहायता कोष समेतको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर १२ तारिख आइतबारका दिन तीजको दर खाने, तीज गीत गायन, नृत्य, भाग्यशाली उपहार कार्यक्रम तथा अन्य रमाइला खेल तथा प्रतिष्पर्धाहरुको समेत आयोजना गरी भब्यतापुर्बक हरितालिका तीज मनाउने निर्णय गरेको छ ।

सो कार्यक्रमलाई भब्य, आकर्षक एबम् सफलता पुर्बक सम्पन्न गर्नको निमित्त गैर आवाशिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद पोर्चुगलका महिला सदश्य बिमला गोतामेको संयोजकत्वमा आयोजक सबै संस्थाहरुबाट समेत प्रतिनिधित्व हुने गरी हरितालिका तीज २०१० आयोजक समिति गठन गरिएको छ । आयोजक समितिमा संयोजक बिमला गोतामे र सदश्यहरुमा पार्बती नेपाली, कोपिला कार्की, बिमला सेढाइ, लक्ष्मी रेग्मी, जमुना गुरुङ्ग, पारु राई, कन्चन श्रेष्ठ, सिता बराल, अन्जु सापकोटा, सिता वान्तवा, राज कुमारी घर्तीमगर, सबिता पौड्याल, स्वेच्छा हमाल, इन्दु न्यौपाने, लीला सांगे तुलाचन, रिता सापकोटा, गिता गिरी, नारायणी लामिछाने, साबित्री बस्नेत, माया के सी, प्रेम कुमारी ठकुरी, गरिमा पौड्याल, गिता तिमिल्सिना र बिमला घिमिरे रहेका छन्।

कार्यक्रममा भोजन तयार एबम् ब्यबस्थापन गर्नको निमित्त एनआरएन एनसिसि सदश्य बल बहादुर खत्रीको संयोजकत्वमा सदश्यहरु योगेन्द्र हमाल, प्रबीण शाही, निलकण्ठ आचार्य र केशब सापकोटा रहेको समिति गठन गरी जिम्मेवारी दिइएको छ ।

हरितालिका तीज कार्यक्रम २०१० आयोजक समितिकी संयोजक बिमला गोतामेले नेपाली दिदिबहिनीहरुको महान पर्ब हरितालिका तीजमा उत्साहपुर्बक सहभागी भै कार्यक्रमलाई सफल पारि दिनु हुन सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई आग्रह गर्दै निकट भबिष्यमा आयोजक समितिको बैठक बसि कार्यक्रमको रूपरेखा एबम् ब्यबस्थापन सम्बन्धी निर्णय गर्ने जानकारी दिनु भएको छ ।



-झलक के सी

लिस्बन, ३१ अगस्त